गणतन्त्र नेपाल बन्ने अवस्था पुर्व राजा ज्ञानेन्द्रले नै बनाएका थिए!

Published by Mahesh Pathak on

गणतन्त्र नेपाल बन्ने अवस्था पुर्व राजा ज्ञानेन्द्रले नै बनाएका थिए!

ईन्डियामा प्रचण्ड पक्षधर नेताहरुलाई छानीछानी समातिएको तर बाबुराम पक्षधरहरुलाई नछोएको, वैद्य लगायत आफु पक्षधर महत्वपुर्ण नेता समातिएको अनि आफू समेत मुस्किलले जोगिएको, अनि बाबुराम भट्टराइलेले पोल्युटब्युरो बैठकमा झण्डैझण्डै अल्पमतमा पारेर आफ्नो नेतृत्व नै धरापमा पारेपछी प्रचण्डले बुझे, ‘यी इन्डियनले हामीलाई खेलाउँदै छन्। यता बसेर धर छैन।’ र उनले निर्णय गरे ‘बरु नेपालमा नै गएर राजासँग सिधै वार्ता गर्ने’ अर्थात ‘दिल्लीसँग टाढिने, दरबारसँग नजिकिने’।

प्रचण्ड सबै नेतृत्वलाई लिएर नेपाल आए। बाबुरामको पक्षमा पुगिसकेका बादललाई आफ्नो पक्षमा पार्न सफल भए र आफ्नो नेतृत्व जोगाए। अनि बाबुरामलाई दक्षिणपन्थी रहेको र हेडक्वाटर कब्जा गर्न खोजेको आरोपमा नियन्त्रणमा लिएर बन्दी बनाए। अवस्था पुर्ण रुपमा आफु अनुकुल बनाएपछी प्रचण्डले राजा ज्ञानेन्द्र शाहसँग सिधै वार्ता गर्न प्रक्रिया अगाडी बढाए। दरबारले पनि सकारात्मक सन्देश नै दियो। दिल्लीको उपस्थितिबिना नेपालको आन्तरिक द्वन्द समाधान होला भन्ने विश्वास प्रचण्डमा थियो। उनको राजनैतिक दिग्विजयको महत्वाकांक्षा आफ्नै किसिमका छँदै थियो।

माघ १९ मा शाही घोषणा मार्फत राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिनु अघि माघ १८ मा सबै सुरक्षाप्रमुखलाई दरबारमा बोलाइयो। शाही संबोधनको ड्राफ्ट सुनाइयो। राअवी प्रमुख देवीराम शर्माले माओवादीलाई शाही संबोधनमा समेट्नु पर्ने सुझाव दिए, शर्माको नेतृत्वमा उक्त ड्राफ्टलाई ४ सुरक्षाप्रमुखले परिमार्जित गरे अनि दरबारबाट फर्किए। उता माओवादीहरु पनि पोल्युटब्युरो बैठकबाटै रेडियो मार्फत शाही संबोधन सुनेर राजासँग वार्ता गर्नेबारे निर्णय गर्ने तयारीमा थिए।

तर जब माघ १९ मा शाही संबोधन आयो, ४ सुरक्षाप्रमुख नै आश्चर्यमा परे। उनीहरुले सच्याएर मिलाएको संबोधनलाई दरबारीयाहरुले रातारात फेरिसकेका रहेछन्। शाही संबोधनमा ज्ञानेद्रले माओवादी शब्द समेत उच्चारण गरेनन्, अझ ‘बाटो बिराएका, जनता विरुद्ध हतियार उठाएका, प्रजातन्त्र विरुद्धको अपराधी’ जस्ता अपमानजनक शब्दहरूको वर्षा मात्र गरे। प्रचण्ड रिसले चुर भए। दरबारको यो धोका उनको लागि अकल्पनीय थियो। 

उता माघ १९ कै दिन ‘र’ प्रमुख बनेका पिके हर्मिज थाराकनले माओवादीको हविगत बुझिसकेका थिए। उनले प्रचण्डलाई फोन गरेर बाबुरामलाई बन्दीबाट मुक्त गर्न र दिल्लीमा आई कुरा गर्न भने। दरबारको धोका अनि नेपाली सेनाको बढ्दो आक्रमण बिच प्रचण्डले नीति फेरे अनि बाबुरामलाई मुक्त गरि भारतीय पक्षसँग वार्ता गर्न दिल्ली पठाए।

माघ १९ अघि देखि नै दरबारको अनेक प्रपन्च भोग्दै थिए नेकपा एमाले, नेपाली कांग्रेस लगायत संसदवादी दलहरु। अझ शेरबहादुर देउवालाई उचालेर नेपाली काङ्ग्रेसलाई फ़ुटाएर कमजोर बनाएको थियो। प्रधानमन्त्री नियुक्त गर्ने, काम गर्नै नसक्ने अवस्था बनाइदिने अनि असफल करार दिएर कहिले राजिनामा दिन बाध्य पार्ने त कहिले सत्ताच्युत नै बनाउने। नेपाली कांग्रेसका शेर बहादुर देउवा र गिरिजा प्रसाद कोइरालालाई साच्चै बिरालोले मुसा खेलाए जस्तै खेलाइरहेको थियो दरबारले।

माघ १९ पछी त संसदबादी दलहरूलाई गतिविधि गर्नै बन्देज लगाइयो। उनीहरुलाई अत्यन्तै प्रताडित गर्यो दरबारले। दरबारको आँखा छल्दै गतिविधि गर्नु पर्थ्यो। दरबारले गरेको कुको विरुद्ध संघर्ष त थाले तर ४६ सालको परिवर्तनपछी जनअपेक्षा पुरा गर्न असफल संसदवादी दलहरुलाई आफ्नो संघर्षलाई जनआन्दोलनको रुप दिन फिटिक्कै सजिलो थिएन। ७ दलको आन्दोलनले माइलेज लिनै सकेन।

माओवादी माथी त कहर नै आयो माघ १९ पछी। शाही नेपाली सेनाको हवाई आक्रमणले भागाभाग हुन्थ्यो। प्रचण्ड कै पुरानो सेल्टरलाई हेलिकप्टरबाट बम खसालेर द्वस्त बनाइयो। केही दिन अघि मात्र सेल्टर परिवर्तन गरेकोले ज्यान जोगिएको थियो प्रचण्डको। प्रत्याक्रमणको लागि प्रचण्डले एकीकृत सैन्य आक्रमण गरि आधार क्षेत्र तयार गर्ने योजना बनाए। तर कुनै सैन्य आक्रमण सफल हुन सकेन। बरु धेरै जनमुक्ती सेनाहरु गुमाए। प्रचण्ड लगायत माओवादी नेताहरूलाई नेपाल भित्र रहनु निक्कै असुरक्षित भए पछी फेरी भारत जान बाध्य भए।

प्रचण्डको अनुमतीमा बाबुरामको यो दिल्ली यात्रा सफल हुन थाल्यो। आफ्नै सहभागितामा नेपालको द्वन्द समाधान गर्ने ईण्डियन अभिलासा पनि जोडिएकोले इन्डियन पक्षको पुर्ण साथ र सहयोग थियो नै।

दरबारको प्रताडनाले आजित ७ संसदवादी दलहरु र माओवादी बीच अन्तत: दिल्लीमा १२ बुँदे सहमति भयो जसको जगमा ६२/६३को जनआन्दोलन सम्पन्न भयो। यही आन्दोलनको बलले ज्ञानेन्द्रको गद्धी पनि छिन्यो र देशमा गणतन्त्र आयो।

माघ १९को शाही संबोधन पुर्व राजा ज्ञानेन्द्रको लागि महत्वपूर्ण टर्निङ प्वाइन्ट थियो। सुरक्षाप्रमुखहरुको सुझावलाई ध्यान दिएर माओवादीहरुसँग वार्ताको बाटो खोलेको भए उनी नेपालको निक्कै महत्वपूर्ण राजा तथा राजनीतिक व्यक्तित्वमा दरिन्थे, संभवत: अहिले पनि नेपालमा राजतन्त्र हुन सक्थ्यो। तर उनले आफ्ना आसपासे कै कुरालाई महत्व दिए, माओवादी र संसदवादी दलहरूलाई निमोठेर ठिक पार्ने निति लिए। र अन्तत: गद्धीच्युत भए।

नेपालको गणतन्त्र त्यति सहज बाटोबाट आएको पक्कै होइन। यसमा माओवादी विद्रोहमा जीवन गुमाउने हजारौंको रगत अनि ६२/६३ को आन्दोलनमा जीवन गुमाउनेहरुको बलीदानी छ। दरबारको कु-नीतिले संसदविरोधी माओवादी र संसदवादी दलहरूलाई एकै मोर्चामा ल्याएर नै यो राजनीतिक परिवर्तन आएको हो।

हामीले यो इतिहासबाट सिक्ने हो, गणतन्त्रलाई सम्मान गर्ने हो र गणतान्त्रिक व्यवस्थाका समेत पछ्याइरहेका समस्यालाई समाधान गरि देश र जनताको हित सुरक्षित गर्ने हो।

गणतन्त्र स्थापनापछीको एक दसक त राजनीतिक रुपमा चरम जटिलताको समय नै थियो। तर पनि हामीले शाहस गरेर नेपालको संविधान जारी गरिछाड्यौँ, बरु एक जुट भएर भारतीय नाकाबन्दीलाई सामना गर्यौं। त्यो एक दसक संक्रमणकालिन अवस्थाले हामीलाई निक्कै पाठ सिकाएको छ।

आज हामी दसकौं पछी देशको सार्वभौमसत्ताको मामलामा एक हुन सक्ने अवस्थामा आइपुगेका छौँ। यो चानचुने राजनीतिक चेत होइन हाम्रो लागि। र यो नै सबथोक त हुँदै होइन। अबको यात्रा झनै परिश्रमको छ। नेपाल र नेपालीको हितको लागि भएका अनेक राजनैतिक संघर्षमा बलिदानी दिएका महान शहिदहरुको सपनालाई हामीले नै साकार बनाउने हो। हामी सबै नेपालीहरूको राष्ट्रीय एकताले नै यो यात्रा सफल हुने हो।

सबैलाई गणतन्त्र दिवसको हार्दिक शुभकामना!

Categories: NepaliPolitics

0 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *