लोकतन्त्र आएपछी हामीले के पायौं? आज वैशाख ११ गते ‘लोकतन्त्र दिवस’ मनाइरहँदा तपाइँ हाम्रो मनमा यो प्रश्न पक्कै आएको होला। त्यसैले, आज यही बारेमा लेख्दै छु।

२०६३ बैशाख ११ गते पुर्वराजा ज्ञानेन्द्र शाहको तानाशाही शासन ढालेर ल्याएको लोकतन्त्रका मुख्य उपलब्धीहरूको बारेमा चर्चा गरौँ।

१) गणतन्त्र

एउटै परिवारको दासको रुपमा आम नागरिकहरू रहनु पर्ने राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गरी आम नागरिक नेपालको पहिलो नागरिक अर्थात राष्ट्रप्रमुख अर्थात राष्ट्रपति बन्न पाउने व्यवस्था लोकतन्त्रसँगै हामीले पायौं। आज नेपालको कुनै पनि बालकले नेपालको राष्ट्रप्रमुख बन्ने सपना देख्न स्वतन्त्र छ।

गणतन्त्र आफैंमा लोकतन्त्र कै सुदृढ रुप हो जहाँ नागरिकलाई देशको राष्ट्रप्रमुख बन्ने अधिकार रहेको हुन्छ।

गणतन्त्रको विषयमा कुरा गर्दै गर्दा हाल नागरिकमा देखिएको निराशालाई  नसमेटेर पूर्वाग्राही बन्न चाहन्न। हाल धेरै नागरिकहरूमा राष्ट्रपतिको भूमिकालाई लिएर निराशा जागेको पाएको छु। महिला राष्ट्रपति भएर पनि महिला हिँसाको समाधानको लागि केही काम नगरेको भन्ने आरोप सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीलाई लाग्ने गरेको छ। राष्ट्रपतिले केही काम नगर्नु भएको अनि प्रधानमन्त्रीको रबरस्टाम्प मात्र बन्नुभएको भन्ने आरोप उहाँले निक्कै खेप्दै आउनु भएको छ।

वास्तवमा हालको गणतन्त्रात्मक व्यवस्थामा राष्ट्रपति आलंकारिक राष्ट्रप्रमुख हुन्। उहाँको अधिकार निक्कै सिमित छ, र साच्चै भन्दा मन्त्रीपरिषदको निर्णयमा हस्ताक्षर गर्ने बाहेक कुनै भूमिका छैन। कार्यकारी अधिकार नरहेको राष्ट्रपति संस्थाले कार्यकारी काम नगरेको भनेर जनताबाट आरोप खेपिरहेको वर्तमान अवस्थालाई ‘जनताको राज्यव्यवस्था प्रतिको अज्ञानता’ हो भनेर बुझ्नु गलत हुन्छ। यस अवस्थालाई मैले जनताले चाहेको व्यवस्था आलंकारिक राष्ट्रपतिको व्यवस्था नभई  ‘कार्यकारी राष्ट्रपति‘ हुने व्यवस्था हो भनेर बुझेको छु।

हालको गणतन्त्रको अझ सुधारिएको स्वरुप नै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था हो। अब यसको बारेमा राजनीतिक वृत्तमा व्यापक वहस भई राष्ट्रीय निर्वाचनको मुद्दा नै बन्नु पर्छ भन्ने मेरो ठम्याई रहेको छ।

२) समावेशीता

लोकतन्त्रसँगै हामीले पाएको पहिलो उपहार समावेशीता हो। लोकतन्त्र स्थापनासँगै बनेका संविधानमा हामीले महिलाहरूको हरेक क्षेत्रमा ३३% सहभागिता सुनिश्चित गर्ने कार्य गर्‍यौं। साथै, दलित, जनजाति, मधेसी, मुस्लिम लगायत पिछडिएका वर्गलाई राज्यको स्थाई सरकार (निजामती सेवा) देखि, सैनिक, प्रहरी, शिक्षक, लगायत हरेक क्षेत्रमा समावेशीताको अधिकार सुनिश्चित गर्‍यौं।

आज हाम्रो राज्यको हरेक अंगमा नेपालीको विविधता झल्कीरहेको छ। पक्कै पनि अहिले जे छ, त्यो प्रयाप्त छैन। अझै धेरै गर्नु छ। लोकतन्त्रले ल्याएको समावेशीता नेपालका उत्पीडित वर्गको लागि वरदान नै सावित भइरहेको छ।

३) संघियता

पुर्व रुपमा कार्यान्वयनमा नआइसकेकोले अझै संघीयताको रस हामीलाई पसेको छैन। तर संघीयताले केन्द्रीय सत्तालाई ७ प्रदेशहरूमा विकेन्द्रीकरण गरी सरकारलाई नागरिकको नजिक पक्कै पुर्‍याएको छ। कर्णाली, सुदुरपश्चिम, तराई-मधेसका जनताले सरकार अब मेरो पनि हो भन्ने समय आउने नै छ जब संघीयता पुर्णरुपेण कार्यान्वयनमा जानेछ।

संघियता महँगो भयो भन्ने आवाज नआएको होइन। तर बुझ्नु पर्ने कुरा के हो भने संघीयता हुनु अघि पनि नेपालमा प्रशासनिक रुपमा क्षेत्रीय कार्यालयहरू तथा अञ्चल कार्यालयहरू थिए जसको खर्च राज्यकोषबाट भइरहेकै थियो। संघियतापछी थपिएको मूल आर्थिक भार भनेको प्रदेश सभाका जनप्रतिनिधिहरू (सांसदहरू) र प्रदेश सरकारको मन्त्रीहरुको सुविधाको रकम नै हो। जब प्रदेशहरूले जनअपेक्षा अनुसार काम गर्नेछन् तब हामीलाई यो खर्च पक्कै पनि ठुलो लाग्ने छैन।

कर्मचारी प्रशासनबाट नियन्त्रित क्षेत्रलाई जनताबाट निर्वाचित जनप्रतिनिधिहरूको नियन्त्रणमा ल्याई जनताको हितमा काम गर्ने सुनिश्चितता गराउने काम नै संघियताले गर्ने हो। अर्थात संघियताले राज्यलाई ज्यादा लोकतान्त्रीक, ज्यादा नागरिक-नियन्त्रित बनाउँछ।

अहिलेको अवस्थामा संघियताको विरोध गर्नु भन्दा पनि संघीयतालाई सुरुमा राम्ररी कार्यान्वयनमा लैजाने वातावरण बनाउनु तर्फ हाम्रो ध्यान जानु जरुरी छ। केन्द्रीय सत्ताले अझै संघियता कार्यान्वयनको लागि रुची नदेखाएको प्रस्टै भएको अवस्थामा संघियता कार्यान्वयनको लागि नागरिक स्तरबाट नै सकारात्मक दवाब आवश्यक देखिएको छ।

४) धर्म निरपेक्षता

लोकतन्त्र स्थापनासँगै हामीले नेपाल राज्यलाई कुनै निश्चित धर्मको सापेक्षतामा राखेनौं र निरपेक्ष बनायौं। यसले राज्य प्रति हरेक धर्मका धर्मावलम्बीहरूले बराबर अपनत्व महशुस गर्ने अवस्था बनाएको छ। नेपाल जस्तो बहु-धार्मिक, बहु-सांस्कृतिक देशको राज्य धर्म निरपेक्ष रहनु नै सबै नागरिकहरूको हितरक्षाको लागि महत्वपूर्ण हो।

धर्म निरपेक्षता राम्रो भएपनि यसको घोषणासँगै नेपालमा धर्म परिवर्तन गराउने कार्यले निक्कै प्रयस पायो। धर्म परिवर्तनको यस किसिमको वृद्धिले नेपालको मौलिक संस्कृतिलाई नै सखाप पार्ने स्तरको संकट निम्त्याएको कुरा आम नागरिकहरूले महसुस गरेका छन्। यही कारण धर्म निरपेक्षता नै गलत हो की भन्ने बिचारमा समेत पुगेका छन्। तर बुझ्नु पर्ने कुरा के हो भने हाल देखिएको धर्म परिवर्तनको लागि विगतमा भएको धर्मसापेक्ष व्यवस्था नै दोशी छ, हाम्रो सामाजिक संरचनामा रहेको छुवाछूत जस्ता अमानवीय विभेदको व्यवस्था नै दोशी हो, र विगतमा हामीले नेपालका विभिन्न जातजाति तथा धर्मका नागरिकहरूलाई उनिहरूको मौलिक संस्कृतिको महत्व बुझाउन चुक्नु नै मूल कारण हुन्।

नेपालमा सांस्कृतिक जागरण अपरिहार्य बनेको छ। नेपालका हरेक जातजातिका मानिसले आफ्नो मौलिक धर्मसंस्कृति प्रति गर्व गर्ने र सोको संरक्षणको लागि प्रतिवद्ध हुने स्थिति बनाउन सके हाल देखिएको धर्मपरिवर्तनको समस्या पक्कै हट्नेछ। यसले नेपालको धार्मिक-सांस्कृतिक विविधताको रक्षा र संवर्धन त गर्ने नै छ, साथै मूल राज्य धर्म निरपेक्ष रही हरेक धर्मसंस्कृतिका नागरिकको हित प्रति बराबर जिम्मेवार हुने स्थिति पनि बनाउन सक्छौं।

अन्तमा,

लोकतन्त्रले हाम्रो लागि सबै बाटो खोलिदिएको छ। आफु र आफ्नो देशलाई विकास गर्नको लागि आवश्यक सबै पक्षलाई उजागर गरेको छ। हामीले तिरेको करबाट चल्ने सार्वजनिक संस्थाहरूको गतिविधिको बारेमा बुझ्न ‘सूचनाको हक’ पाएका छौं। सरकारको कुनै पनि काम कारवाहीको बारेमा आवाज उठाउने अधिकार पाएका छौं। हामीले चाहेको जस्तो अवस्था र व्यवस्था मतपेटिकाबाट नै बनाउन सक्ने आधार पाएका छौं।

लोकतान्त्रिक नेपालको समाज र सत्ता कस्तो हुने भन्ने कुरा अब पुर्णत: तपाइँ-हाम्रो हातमा छ। अब पनि हामीले देशलाई हामीले चाहे जस्तै बनाउन सकेनौं भने त्यसको दोशी हामी स्वयं नै हुनेछौं।

लोकतन्त्रबाट मैले के पाएँ भन्ने प्रश्नमा घोत्लिनुको साथै लोकतन्त्रलाई मैले के दिएँ भन्ने तर्फ पनि सोच्यौं भने हामीले चाहेको जस्तै देश बनाउने दिशामा हाम्रो पाइला चल्नेछ। त्यसको लागि हामी हाम्रो अधिकार सँगै कर्तव्यहरू प्रति उत्तिक्कै जिम्मेवार बन्नु पर्छ। विवेकशील नागरिकहरूको जगमा मात्र लोकतान्त्रिक व्यवस्थाले जनहित सुनिश्चित गर्न सक्ने हो। मतदान गर्ने बेलामा सचेत हुने, सूचनाको हक प्रयोग गरी सार्वजनिक संस्थाहरूलाई पारदर्शी र जवाफदेही बनाउने अनि सरकारको हरेक गतिविधिहरू प्रति आलोचनात्मक चेत राख्दै आवश्यक प्रतिक्रिया दिने जस्ता विषयमा हाम्रो ध्यान गएमा पक्कै पनि लोकतन्त्रले हाम्रो जीवन सहज बनाउन सर्वोत्तम भूमिका निर्वाह गर्दछ।

लोकतन्त्र स्थापनाको लागि भएको १० वर्षे जनविद्रोहमा सहादत प्राप्त गरेका तथा २०६२/६३ को जनआन्दोलनमा जीवनको आहुती दिएका सबै ज्ञात-अज्ञात सहिदहरूहरू प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै हामी सबैलाई लोकतन्त्र दिवसको हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु।

माटोले माग्दैन, आफैंले दिनुपर्छ!

नेपाल र नेपालीको जय होस्!!


0 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *