प्रिय, तिम्रो वृक्षको जरा अनि काँडा बन्न चाहन्छु

Published by Mahesh Pathak on

Rose bushes

प्रिय,

तिम्रो जन्मदिनमा तिम्रो लागि एउटा पत्र कोर्दै छु। आशा छ, तिमीले पढ्ने छौ अनि मनन गर्ने छौ।

प्रेम र गुलाफको फूललाई निक्कै धेरै जोडेर हेरिन्छ है। प्रेम दर्शाउँदै गुलाफको फूलको आदान प्रदान गरिन्छ। प्रेमिल जोडीको लागि गुलाफको फूल निक्कै महत्वपुर्ण रहँदै आएको छ। फूलाफको फूललाई जोडेर धेरै साहित्य लेखिएका छन्। जीवन गुलाफको फूल जस्तै, सुगन्धित अनि सुन्दर होस् भन्ने कामना गरिएका छन्।

यद्यपी, मलाई भने जीवन गुलाफको फूल होइन, गुलाफको वृक्ष लाग्दछ। गुलाफको वृक्षमा सुगन्ध भएको सुन्दर फूलहरु छन्, साथमा उक्त फूललाई फूल्ने बनाउन सहायक बन्ने जरा, हरिया पात अनि काँडा पनि छन्।

गुलाफको वृक्ष त्यही जराको कारण धरतीमा अडिएको छ र जराबाट नै आवश्यक खाद्य पदार्थ तथा पानी पाएर बाँची रहेको छ; हो बाहिरबाट नदेखिने त्यही जरा कै कारण गुलाफको वृक्ष जिवित छ। गुलाफका हाँगा अनि पातहरुले नै वृक्षलाई जिवन्त बनाई रहेका छन्। त्यो हरियो पातमा फोटोसिन्थेसिस नहुने हो भने अनि हाँगाबाट फोटोसिन्थेसिसबाट प्राप्त शक्तीको संचार नहुने हो भने गुलाफको फूलको अस्तित्व होला र? अझै त्यो सुन्दर फूल स्वयम् पनि एक हाँगामा नै अडिएको छ।

गुलाफको फूलमा ती काँडा किन भएका होलान् भन्ने सबैलाई लाग्दछ। तर ती काँडाको पनि त आफ्नै महत्व छ नि। तिमीले गुलाफको झाडी देखेकी छौ प्रिय?

गुलाफको झाडीमा बाहिर देखि भित्र सम्म निक्कै धेरै गुलाफका फूलहरु फूलेका हुन्छन्। बाहिरका फूलहरु त मान्छेले टिपेर लैजान सक्छन्, तर भित्रका फूलहरु टिप्न सक्दैनन्। यसको कारण गुलाफको फूलमा रहेका तिनै धारिला काँडा हुन्। तिनैले गुलाफका फूलहरूको रक्षा गरेका हुन्छन्।

हाम्रो जीवनको सफलताहरु अनि खुसीका पलहरु भनेका तिनै गुलाफका फूलहरु जस्तै हुन्। हाम्रो खुसीले अनि सफलताले सबैलाई खुसी बनाउन सक्छौं। लोकको हित गर्न सक्छौं।

तर के ती सफलता अनि खुसीका क्षण मात्र जीवन हो त?

पक्कै होइन। जीवन त यहि हो जुन हामी हरेक पल बाचीरहेका छौं। ती सफलता प्राप्तीको सम्पुर्ण यात्रा नै जीवन हो।

सफलता प्राप्तीको यात्रामा परिवार अनि प्रियजनको साथ जसलाई दुनियाँले देख्दैन, तर हामीले सबै भन्दा धेरै तीनैको आधार पाएका हुन्छौं; यी फूलाफको वृक्षको जरा जस्तै रहेछन्।

हाम्रो संघर्ष अनि मेहनत वृक्षको हाँगा अनि पात जस्तै रहेछन्।

अनि त गुलाफ फूले झैं हाम्रो जीवनमा सफलता अनि खुसी फूल्दछन्। दुनियाँलाई हाम्रो सफलता र खुसीको प्रती मात्र चासो हुने हो। सके सम्म हाम्रो सफलता अनि खुसीका पलहरुलाई टिपेर लैजाने अनि आफ्नो जीवनमा पनि खुसी छर्ने प्रयत्न गर्छन्। हामीले फूलाफको फूल टिपेजस्तै गरि।

तर दुनियाँलाई सुन्दर गुलाफ दिएर वृक्ष नांगिन पनि त भएन नि होइन र? आफू भित्र पनि वृक्षले थुप्रै गुलाफलाई समाहित गर्नै पर्दछ, आफ्नो सुन्दरतालाई जोगाइराख्न। हो, यहि बेलामा कठोरता रुपी काँडा पनि चाहिने रहेछ। यहि कठोरताले नै आफ्ना खुसी अनि सफलता जति सबै खोसिएर हामीलाई उजाड वृक्ष बन्नबाट जोगाउँछ।

आफू नै खुसी नभई दुनियाँलाई खुसी दिन कहाँ सकिन्छ र?
आफ्नो खुसी अरुबाट लुटिनबाट जोगाउन कहिलेकाहीँ आवश्यकता अनुसार कठोर पनि बन्नै पर्ने रहेछ।

प्रिय,
गुलाफको वृक्षरुपी तिम्रो जीवनमा मलाई त्यही जरा अनि काँडा हुन मन छ। दुनियाँबाट अदृश्य रहि तिमीलाई सधैं न्यानो माया अनि साथ मार्फत सिन्चित गर्ने त्यो जरा हुन मन छ। अनि तिमीलाई कठिन अवश्थामा जोगाउनका लागि कठोरताको प्रयोग गर्दै साथ दिने काँडा बन्न मन छ। दुनियाँलाई मेरो काँडा स्वरुप पक्कै मन पर्दैन। तर मलाई दुनियाँको के चासो? फूलाफको वृक्षले काँडालाई आफ्नै अंगको रुपमा अंगाले जस्तै तिमीले मलाई अंगालेपछी म आफुमा अवश्य सार्थकता नै पाउँछु।

म जरा र काँडा बन्दै गर्दा हाँगा अनि पात तिमी स्वयम् बन्नै पर्छ है। मेहनत अनि परिश्रम तिमी स्वयमले गर्नै पर्दछ। अनि मात्र गुलाफको फूल फुले झैं आफ्नो सफलता र खुसी मार्फत आफूलाई अनि दुनियाँलाई सुन्दर बनाउन सक्छौ।

अनि नि,
यो कुरा तिमीमा मात्र होइन ममा पनि उत्तिकै लागू हुन्छ है। म पनि तिमी जस्तै गुलाफको वृक्ष नै हुँ। मलाई पनि जरा अनि काँडाको उत्तिकै आवश्यकता छ।

म तिम्रो वृक्षको जरा अनि काँडा बने जस्तै तिमी पनि मेरो वृक्षको जरा अनि काँडा बनिदिनु है।

हामी दुई वृक्षसँगै रहँदा हाम्रो झाडी अझ विशाल हुन्छ। यनि यहि झाडी नै हाम्रो सुरक्षा कवच अनि सुन्दर विशाल संसार हुन्छ। हाम्रो सुन्दर घर हुन्छ।

फेरि पनि जन्मदिनको हार्दिक मंगलमय शुभकामना तिमीलाई।

तिम्रै,
जरा अनि काँडा

Categories: NepaliRelationship

0 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *