पुर्वीय सभ्यता रुढीवादी तथा एकात्मकवादी नै हो त?

Published by Mahesh Pathak on

Kathmandu Durbar Square

हिन्दु के हो? सभ्यता वा धर्म?
के हाम्रो पुर्वीय सभ्यता रुढीवादी तथा एकात्मकवादी हो त?

हिमालय देखि इन्दुसागर (Indian Ocean) सम्मको भुभागको सभ्यतालाई हिन्दु सभ्यताको रुपमा चिन्ने एक व्याख्या छ। त्यस्तै हिजोआज हिन्दु भनेको वैदिक सनातन धर्म मात्र हो भन्ने तरिकाले साँघुरो व्याख्या पनि गर्न थालिएको छ।

वेदलाई सबै तर्कको आधार मान्नेहरु मात्र यस भुभागमा हिजो पनि थिएनन्, आज पनि छैनन्। भारतीय उपमहाद्विपको सभ्यतामा विविध बिचारधाराको उपस्थिति हजारौं वर्षदेखी विद्यमान छ। यहाँ वैदिक सनातन पनि छन् जो हरेक तर्कलाई वेद मार्फत पुष्टि गर्न रुचाउँछन्। यहाँ बौद्ध मार्ग पनि छ, जैन मार्ग पनि छ जो वेदमा तर्कको आधार खोज्दैनन्, तर्कको आधार वेद बाहिर नै पाएका छन्।

वैदिक सनातनी मार्गमा पनि विभिन्न गहन प्रश्नहरु रहेका छन् जसलाई philosophical तरिकाले नै व्याख्या गर्न खोजिएको छ। भागवत गितामा कृष्णले अर्जुनलाई ‘कर्म गर, प्रतिफल तर्फ ध्यान नदेउ भनेर संझाएका छन्। शासन सत्ता कै लागि आफ्नै दाजुभाइ बन्धुवान्धवको बध गर्ने कि नगर्ने भन्ने अर्जुनको द्विविधा र तर्क आज पनि प्रधानताको साथ विद्यमान छ। महाभारतमा अन्त्यमा कृष्णले दिएको तर्कलाई अर्जुनले स्विकारेका भएपनी अर्जुनको सुरुवाती तर्क नै सहि हो भन्ने राय राख्नेहरु हिजो पनि थिए, आज पनि छन्। महाभारतको युद्धपछी युद्धिष्टिरको न्यायिक शासन रहेको देखाइएता पनि ‘दुर्योधन र कर्णको शासन अझ धेरै न्यायिक हुन्थ्यो कि?’ भन्ने राय हिजो पनि थियो, आज पनि छ।

मुक्ती (liberation) को बारेमा संसारको सबैजसो धर्मले भक्ती मार्गलाई मात्र प्रस्तुत गर्ने गरेकोमा वैदिक सनातन धर्ममा भने ३ मार्गहरु प्रस्तुत गरिएको छ: भक्ती मार्ग (इश्वर प्रती संपुर्ण रुपमा शरणागत हुने), कर्म मार्ग (सत्कर्म कै आधारमा मुक्ती पाउने) र ज्ञान मार्ग (ध्यान तथा अध्ययन मार्फत मुक्ती पाउने)। सृष्टिको उत्पत्ति संबन्धी प्रश्न पनि प्रश्न तथा संसयमा राखिएको छ, ठोस केही भनिएको छैन जसले हाम्रो सभ्यतामा संसयलाई पनि प्रशस्त स्थान दिएको देखाउँछ।

यहाँ जातीय आधारमा सामाजिक विभेदको संस्कार रहेपनी, अनि मनुस्मृती मार्फत यस विभेदको व्यवस्थालाई सामाजिक रुपमा स्थापित गर्ने प्रयत्न गरिए पनि जाती प्रथाको बारेमा प्रतिप्रश्नहरू रामायण (राम र सबरीको प्रसंग) र महाभारतमा (कर्णको विद्रोह) नै स्पष्ट पाउँछौं। “हरेक मानिस रिस, राग, लोभ, माया, ईर्ष्या, कामवासना, आदिबाट बराबरी रुपमा प्रभावित हुन्छ भने कसरी फरक-फरक जातको वर्गिकरण गर्न सकिन्छ?” भन्ने गहन प्रश्न पनि हजारौं वर्षदेखी यही क्षेत्रमा विद्यमान छ।

जात भनेको कर्मको आधारमा हुने हो, कर्म परिवर्तन गर्नासाथ जात पनि परिवर्तन हुन्छ भन्ने बिचारधारा ‘रत्नाकरको वाल्मीकिमा रुपान्तरण’ को रुपमा रहेको पनि छ।

वैदिक सनातन धर्म मान्ने व्राह्मणहरुले आफ्नो सर्वोच्चता स्थापित गर्न जातीय व्यवस्थालाई जोगाउन अनेक प्रपन्च गर्ने कार्य हजारौं वर्षदेखी गरेको देखिन्छ। अनि विद्रोहको रुपमा कहिले वौद्ध मार्ग त कहिले जैन मार्गले प्रधानता पाई व्राह्मणलाई सर्वश्रेष्ठ मान्ने बिचारधारालाई निक्कै कमजोर पारेको ईतिहास पनि छ। बौद्ध मार्ग यस उपमहाद्विपमा १००० वर्षसम्म प्रधानताको साथ रहेको नै हो।

कहिले एउटा बिचारधाराले प्रधानता पाएको थियो त कहिले अर्कोले। विभिन्न चक्र नै पार भइसकेको छ विचारधाराको प्रधानतामा पनि।

यहाँ हजारौं वर्षदेखि नास्तिक पनि छन्, आस्थिक पनि छन्, विविध विचारधाराहरु पन्थको रुपमा स्थापित थिए र छन्। र विविध विचारधारा बिच खुल्ला शास्त्रार्थ हुने गरेको हजारौं वर्षदेखिको इतिहास छ। यस्तो शास्त्रार्थको व्यवस्थापन राज्यले गर्ने गरेको कुराले धार्मिक स्वतन्त्रताको हजारौं वर्षको इतिहास हाम्रो क्षेत्रमा रहेको देखाउँछ।

हाम्रो सभ्यताको आधार नै बहुलवादी प्रकृतिको भएकोले धर्म निरपेक्षता र धार्मिक स्वतन्त्रता हाम्रो सभ्यताको जग कै रुपमा रहेको देखिन्छ। यसका साथै हाम्रो सभ्यतामा dialogical र dialectical वातावरण हजारौं वर्षदेखि रहेकोले लोकतन्त्रको लागि हाम्रो क्षेत्र सधैं नै उर्बर रहेको स्पष्ट देखिन्छ।

पुर्वीय सभ्यता भन्ने वितिक्कै रुढीबाद हो भनेर बुझ्ने पश्चिमा धारणालाई ब्रीटिश शासनको बेलामा यस क्षेत्रलाई दबाउन यति प्रचुर रुपमा प्रयोग गरियो कि हाम्रै क्षेत्रका कैयन व्यक्तीहरुले हाम्रो सभ्यता साच्चै रुढीबादी नै मात्र हो भन्ने भ्रम पालेर बसेका छन्।
अमार्त्य सेनको ‘Argumentative Indians’ लेखले यही भ्रमलाई चिर्ने प्रयत्न गरेको छ।

Categories: NepaliSociety

0 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *