स्वतन्त्रता, अस्तित्व, आत्मसम्मान! संदर्भ – महिला र पुरुष

Published by Mahesh Pathak on

man woman

स्वतन्त्रता, अस्तित्व, आत्मसम्मान!
यी शब्द हामी धेरैलाई निक्कै प्रिय लाग्ने शब्द हुन्।

अझ ‘मेरो स्वतन्त्रता!’, ‘मेरो अस्तित्व!’ अनि ‘मेरो आत्मसम्मान!’, यी शब्दहरू हाम्रा  जीवनका विभिन्न मोडहरूमा हाम्रो मनमा निक्कै धेरै उथलपुथल बीच सहयात्रा गरेका शब्दहरु नै हुन्। होइन र?

आज अन्तरराष्ट्रीय महिला दिवस हो। यहि अवशरमा नै यी शब्दहरूमा मन खोल्न खोजेको भने होइन। मन खोल्न मलाई कुनै दिवस वा दिन चाहिने पटक्कै होइन। मन हो, केही कुराले छुन्छ, द्रवित हुन्छ, अनि बग्न थाल्दछ। सधैं साधनाको बलले मनलाई नियन्त्रण गर्न पनि खोज्दिन म। मेरो मनले पनि पावोस् न, त्यो स्वतन्त्रता, जुन सबैले चाहन्छन्।

महिला र पुरुष। कति भिन्न? कति समान? आज महिला र पुरुषको बारेमा लेख्न मन लाग्यो, यीनै ‘स्वतन्त्रता’, ‘अस्तित्व’ र आत्मसम्मान’ शब्दहरूसँगै बग्दै।

शाररिक भिन्नता महिला र पुरुषमा अवश्य छन्, प्राकृतिक रुपमा जिवको बंश-विस्तारको लागि महिलालाई र पुरुषलाई फरक-फरक भूमिका प्राप्त छ। पुरुषले नयाँ जीवनको सिर्जनाको लागि सुक्रकिट उत्पादन गर्दछ। महिलाले हरेक महिला महिनावारी हुने, डिम्ब उत्पादन गर्नुका साथै सुक्रकिट र डिम्बको मिलनबाट नयाँ जीवनको सिर्जनाको लागि गर्भाधान गर्ने, प्रसव पिडा वहन गर्दै नयाँ जीवनलाई वाहिरी संसारमा प्रस्तुत गर्ने र उक्त नयाँ जीवनले बाहिरी खाद्य पदार्थ खान नसकुन्जेल स्तनपान गराउने भूमिका निभाउने गर्दछ। यी कुरा नितान्त प्राकृतिक भूमिका हुन् महिला र पुरुषका, यस्ता भूमिका जसमा एकले अर्कोलाई पालो दिन पनि सक्दैनन्।

‘एउटा बच्चा तिमीले जन्मायौ, अर्को चै म जन्माउँछु है माया! तिमीले मात्र पीडा भोगेको म सहन सक्दिन।’ यसो भन्ने जति नै इक्षा राखे पनि मैले मेरी पत्नीलाई यस किसिमको साथ दिन सक्दिन। पत्नीलाई जति धेरै माया गर्ने पति भए पनि एक पतिले यस किसिमको साथ आफ्नी प्रिय पत्नीलाई दिन सक्दैन।

यसो हेर्दा महिलालाई प्रकृतिले नै ठगेको जस्तो पनि लाग्छ। हरेक पिडा किन महिलालाई?

एक दिन बच्चा जन्माउने प्राकृतिक भूमिका निर्वाह गर्न हरेक महिना महिनावारीको पीडा भोग्नु पर्ने! पुरुषले सुक्रकिट उत्पादन गरे पुग्ने, अनि महिलाले नै ९ महिनाको गर्भाधानका बेलामा असहजता, प्रसव पीडा, बच्चालाई स्तनपान गराई हुर्काउनु पर्ने किन? दुखको काम जति महिलालाई मात्र किन? पुर्ण भौतिक रुपमा सोच्दा महिला माथी प्रकृतिले निक्कै ठुलो अन्याय नै गरेको महशुस हुन्छ मलाई पनि।

तर, के हामी मानिसले यी प्राकृतिक तथा भौतिक पक्षबाट मात्र सोच्न सक्ने हो र?

हामी मानिसमा मानवीय गुणको रुपमा रहेका भावनाहरू छन् नि। माया, मोह, जिम्मेवारीवोध, सहकार्यको सोच, साथको भावना। यिनीहरु सँगै लोभ, लालच, घृणा, पीडा, पिर-चिन्ता पनि छन्। यी भावनाहरु पनि मानिसको त्यति नै प्राकृतिक गुण हुन् जति सन्तान उत्पादनका भूमिकाहरु रहेका छन्। भावना बिनाको मानिसको अस्तित्व के होला?

स्वतन्त्रता, आफ्नो अस्तित्वको महशुस अनि आत्मसम्मानको चाहना हरेक व्यक्तिले राख्ने गरेकै हुन्। यो व्यक्तिगत चाहनामा मैले आज सम्म लैंगिक भिन्नता पाएको छैन। मैले भेटेका हरेक नारीमा यी चाहना पाएको छु, कसैमा अलि दमित अवस्थामा भने कसैमा प्रवल अवस्थामा।

के स्वतन्त्रता, स्व-अस्तित्व र आत्मसम्मानको कुनै सिमा छ? कि यो असिमित चाहना वा आवस्यकता हो?

स्वतन्त्र अस्तित्व अनि आत्मसम्मानको चाहना हरेक मानिसमा उत्तिकै रहे पछी के यसको प्राप्ती बाटो समाउने पो हो की? स्वतन्त्रताको खोजीको अन्तिम बिन्दु मै पुग्ने प्रयत्न नै पो गर्ने की? पुर्ण स्वतन्त्रताको खोजी!

मानिसले पुर्ण स्वतन्त्रताको खोजी पनि गरेकै हो। पुर्ण स्वतन्त्रताको खोजीमा ध्यानमा लिन रहने मानिसहरु थिए र छन्। के हामी सबैले पुर्ण स्वतन्त्रताको यहि बाटो अपनाउने हो की? हामी सबै साधु-सन्त बन्ने, सांसारिक माया-मोहको जंजालबाट मुक्त भई ध्यानमा लिन हुने र भौतिकताबाट नै मुक्त हुने। बच्चा जन्माउने कार्य त यस बाटोमा लाग्नेले गर्न नमिल्ला, आफु पुर्ण स्वतन्त्रताको लागि अग्रसर मान्छेले अर्को एक जीवनलाई यस संसारको बन्धनमा उतार्नु कदापी सहि नहोला नि, होइन र? आखिर भौतिकता नै दुखको कारण, बन्धनको कारण हो भने भौतिकताबाट स्वतन्त्रता पाउने बाटो नै पुर्ण स्वतन्त्रताको उच्चतम बाटो होला नि। हामी सबै पुर्ण स्वतन्त्र बनौं र पृथ्वीलाई मानवमुक्त बनाऔं।

के यो बाटो र नतिजा हाम्रो चाहना हो?

पुर्ण स्वतन्त्रताको बाटो मेरो होइन भने मेरो स्वतन्त्रता, आत्मसम्मान अनि अस्तित्वको पनि सिमा पक्कै छ। यो सिमा हरेक मानिसको लागि बराबर नै हुनु पर्छ। चाहे महिला वा पुरुष, दुबैमा सिमा उस्तै नै हुनु पर्छ। चाहनामा लैंगिक भेद छैन भने सीमामा पनि हुनु हुन्न।

सिमाना कहाँ छ त?

मैले बुझे सम्म मेरो स्वतन्त्रता, स्व-अस्तित्व अनि आत्मसम्मानको सिमाना त्यहीं नै रहेछ जहाँ सह-अस्तित्व, आपसी सम्मान अनि मायाको आधार रहेको छ।

म एक्लै बाच्न सक्दिन। मेरो जीवनमा अन्य धेरै जीवनहरु जोडिएका छन् भने ‘सह-अस्तित्व’को आधार रहने बिन्दुमा नै मेरो स्वतन्त्रता अनि स्व-अस्तित्वको सिमा हुने रहेछ। अनि मेरो आत्मसम्मानको सिमा पनि त्यहि रहेछ जहाँ आपसी सम्मानको आधार रहेको छ।

यसलाई अलि सहज तरिकाले भन्ने प्रयास गर्छु है।

म त्यहि सम्म स्वतन्त्र छु जहाँ सम्म मैले अर्को व्यक्तीसँगको सह-अस्तित्वको आधार भत्काउन्न। म हरेक कुरा गर्न स्वतन्त्र छु, तर मेरो कुनै कर्मले अर्को व्यक्तीसँगको सह-अस्तित्वको आधार भत्काउँछ भने मेरो स्वतन्त्रता त्यहि सम्म नै हो।

म आफ्नो खुसीको लागि गर्ने कर्मले अर्को व्यक्तीलाई दुख दिन स्वतन्त्र छैन, किनकी अब मेरो उक्त कर्मले उक्त व्यक्तीसँगको मेरो सह-अस्तित्वको आधारलाई खण्डित गर्दछ।

मानौं म विवाहित पुरुष हुँ। मैले विवाह नै यस कारण गरेको हुन्छु कि मैले एक महिलासँगको सह-अस्तित्वलाई स्वीकारेको छु। मेरी पत्नी र मेरो सहवासबाट नयाँ जीवनको अङ्कुरण हुँदै गर्दा मैले बुझ्नु पर्ने धेरै कुरा हुन्छन्। सहवास सुखमा त हामी बीच भेद नरहला। त्यस पछीको भूमिकामा प्राकृतिक भेद छ भने सह-अस्तित्व स्वीकारेको मैले आफ्नो अन्य भूमिकालाई पनि बुझ्नै पर्छ।

मैले बुझ्नै पर्छ कि मेरी पत्नीको कोखमा रहेको उक्त नयाँ जीवनको सिर्जना मेरो र मेरी पत्नीको आधा-आधा क्रोमोजोमको मिलनबाट भएको छ भने उक्त जीवन प्रति हामी दुबै बराबर जीम्मेवार छौं।

उक्त जीवनको सुरुवात प्रति मात्र होइन, मैले मेरी पत्नीले उक्त जीवनलाई अङ्कुरित हुने वातावरण बनाउन उनि मेरो जीवनमा आउनु भन्दा धेरै अघि देखि हरेक महिना भोगेको महिनावारीको पीडा प्रति मैले समानुभुती गर्नु पर्दछ र उनी प्रति आभारी हुनु पर्छ। हरेक महिना उनि महिनाबारीको पीडाले छटपटाइ रहँदा उनलाई सहज महशुस गराउन मैले सक्दो प्रयत्न गर्नु पर्छ।

उनले गर्भाधान गरेपछी उक्त ९ महिनामा उनलाई हरेक अवस्थामा मैले साथ दिन सक्नु पर्छ। उनको हरेक छटपटीमा उनको हात समातेर उनलाई मायालु व्यवहार मार्फत पीडा कम गर्ने हर प्रयत्न गर्न सक्नु पर्छ। उनी प्रसव पीडामा हुँदा उनको पीडालाई मैले समानुभुत गर्न सक्नु पर्दछ। नयाँ जीवनलाई जन्म दिँदा उनि शाररिक रुपमा कमजोर भएको अवस्थामा बलियो साथ दिई कुनै कमजोरीको महसुस नहुने वातावरण बनाउनु मेरो कर्तव्य नै हुन आउँछ। स्तनपान गराउने कार्य प्राकृतिक रुपमा उनको भए पनि अन्य कार्यमा मैले उनलाई साथ दिनु नै पर्दछ।

उनले गर्भाधान गरेदेखि बच्चा २ वर्षको हुन्जेल सम्मको १००० दिनमा उनले शाररिक पीडा, अप्ठ्यारा अनि असहजता विशेष रुपमा भोग्दै गर्दा मैले पनि उनलाई सहज बनाउन अन्य जिम्मेवारीहरु विशेष रुपमा पुरा गर्नै पर्छ।

यसरी महिला-पुरुषको प्राकृतिक भेदका बिच पनि सह-अस्तित्वका आधारहरु माया, प्रेम, जिम्मेवारीबोध अनि सहकार्यको भावनाले हामीलाई जोड्न पक्कै सक्दछ।

बाकीं कार्यमा त महिला पुरुष बीच अन्य कुनै भेद छैन। हामी दुबै हरेक कुरामा सक्षम नै छौं भने विभेदको स्थान नै हामी बीच नरहनु पर्ने हो।

प्राकृतिक भेदका बीच पनि हामी जोडिन सक्ने आधारहरू हुँदा पनि हाम्रो समाजमा लैंगिक विभेद रहेको छ। यो हाम्रो सामाजिक कटु-सत्य नै हो। र यसको कारकको रुपमा मैले आर्थिक व्यवस्थालाई पाएको छु। कसरी? यसको बारेमा भने अर्को लेखमा लेखौंला।

Categories: Society

0 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *