नेपालको मुलत: तराईमा बस्ने मुस्लिम समुदाय चरम गरिबी तथा अशिक्षाबाट गुज्रिरहेका छन्। जहाँ गरिबी र अशिक्षा हुन्छ त्यहाँ रुढीबादी सामाजिक व्यवस्था कट्टर बनेको हुन्छ। यस्तो समस्या उस्तै सामाजिक-आर्थिक अवस्थाबाट गुज्रिएका अन्य समुदायमा पनि देख्न सकिन्छ।
तर भारतमा गहिरो रुपमा रहेको मुस्लिम विरोधी भावना नेपालको सिमावर्ती क्षेत्रमा फैलिन थालेसँगै नेपालका मुस्लिम समुदाय असुरक्षित बन्ने हुन् कि भन्ने चिन्ता हालैका केही घटनाले बढाइरहेका छन्। अनि सामाजिक सञ्जालमा छरिएका भावनाहरुले कतै धार्मिक सहिष्णुताको नेपाली मौलिक सभ्यता संकटमा त छैन भन्ने डर थपेको छ।
आफ्नो संस्कृति, सभ्यता, परम्परागत मान्यता अनि रितिरिवाज प्रती गर्व हुनु सामान्य हो, हुनु पनि पर्छ। हाम्रो धेरथोर पहिचान पनि यी कुरासँग जोडिएको हुन्छ।
तर, समस्या त तब हुन्छ जब आफ्नो बाहेकका सभ्यता, संस्कृति अनि रितिरिवाज प्रतीको सहिष्णुता तथा सम्मानको भावना रहन्न। अनि त्यसको सट्टा घृणाको भावना सघन रुपमा रहेको हुन्छ।
मुस्लिमलाई कहिले आतंकवादी देख्ने त कहिले कोरोना फैलाउने कार्य गरेको भन्ने आरोप लगाउने हिन्दुहरु आफैंमा हिन्दु कट्टरपन्थी नै हुन् जसको हातमा कसैले हतियार थमाइदियो भने आतंकवादी संगठन तत्काल तयार हुन्छ।
हिन्दु आतंककारी संगठन आज विश्वमा नहुनुको कारण हिन्दु समुदायमा मुस्लिम समुदायमा जस्तै कट्टरपन्थी भावना नभएर हुँदै होइन। यसको कारण यही हो कि हिन्दु समुदाय विश्वशक्ति राष्ट्रहरुको रक्तिम खेलमा फस्नु परेन। जति पनि विश्वमा नाम चलेका मुस्लिम आतंककारी संगठन छन्, तिनको सुरुवातमा शक्तीराष्ट्रहरु जोडिएकै छन्।
बिचार गरौं न, नेपाली सेनाको हातमा राम्रो स्वचालित हतियार पर्न माओवादी द्वन्द नै आउनु परेको थियो भने ती गरिब मुस्लिम समुदायमा कसरी स्वचालित राइफल, ग्रीनेड, रकेट, आदी आधुनिक र अति महंगा हतियार पुग्न सक्छ?
आफैंले त पक्कै बनाएका होइनन्!
नेपालको प्रमुख राष्ट्रिय सुरक्षा चुनौतीको रुपमा मैले धार्मिक तथा जातीय कट्टरपन्थलाई पाएको छु। र यस किसिमको कट्टरपन्थी सोच चाहे हिन्दुमा होस् या मुस्लिममा होस्, दुबैमा उत्त्तिकै पाएको छु। हालैको दशकमा द्रुत रुपमा बिस्तार भइरहेको इशाई समुदायमा झन् धेरै कट्टरपन्थी भावना पाएको छु।
राज्यले आफ्नो राष्ट्रिय सुरक्षा चुनौतीलाई व्यवस्थापन गर्नको लागि आवश्यक कदम चाल्ने हो भने कट्टरपन्थी भावनाको जडलाई समाप्त पार्नै पर्छ। र यसको प्रमुख जड भनेको गरिबी र अशिक्षा नै हुन्। अरु प्रमुख कारणहरुमा नियोजित रुपमा कट्टरपन्थको प्रचार गर्ने प्रचारकहरु रहेका छन् जो कतै हिन्दु धर्मगुरुका नाममा, कतै मुस्लिम धर्मगुरुको नाममा, कतै इशाई पास्टरको नाममा त कतै जनजाती नेताको नाममा रहेका छन्। यी भाइरसहरुको पहिचान गरि उनीहरुको कट्टरपन्थी गतिविधिमा लगाम लगाउन राज्यले सक्नै पर्छ।
कोरोना भाइरस भन्दा घातक हुन्छ जातीय र धार्मिक कट्टरपन्थको भाइरस। समयमा नै राज्यले यथोचित सचेत कदम चालेन भने देश गृहयुद्धमा फस्न समय लाग्दैन जसको पीडा कोरोनाको भन्दा निक्कै नै भयावह हुन्छ।
0 Comments